रौतहटको सबगढा विवाद : प्रशासनले शान्ति कायम गर्न सर्वदलीय बैठक

User Image Prime TV News १ हप्ता अगाडि
Image of रौतहटको सबगढा विवाद : प्रशासनले शान्ति कायम गर्न सर्वदलीय बैठक

रौतहट । रौतहटको गौर नगरपालिका–६ सबगढा टोलमा बिहीबार भएको साम्प्रदायिक विवादपछि जारी कर्फ्युको बीच आइतबार सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठकले सबै पक्षलाई संयम अपनाउन, सामाजिक–धार्मिक सद्भाव कायम गर्न अपिल गर्ने निर्णय गरेको छ। साथै, दोषीमाथि कानुनी कारबाही अघि बढाउने र सद्भाव र्‍याली आयोजना गर्ने योजना तय गरिएको छ।

बैठकले सोमबार बिहान ७:३० बजे सबगढामा नागरिक समाजको अगुवाइमा सद्भाव र्‍याली सञ्चालन गर्ने निर्णय गरेको छ। अफवाह फैलाउने र उक्साहट गर्ने गतिविधि नियन्त्रण गर्न कडा निगरानी र आवश्यक कारबाही गरिने पनि बताइएको छ।

विवादको सुरुवात एक विवाहको जन्ती मस्जिद अगाडि बजाउँदा भएको थियो। झडपमा दुवै पक्षबीच ढुंगामुढा, दर्जनौँ घाइते र केही सवारी साधनमा तोड़फोड भएको थियो। प्रशासनले शुक्रबारदेखि कर्फ्यु आदेश जारी गर्दै सुरक्षा बल परिचालन गरेको छ।

साम्प्रदायिक सद्भाव बिगार्ने आरोपमा जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसैदसहित २३ जना नियन्त्रणमा छन्। यसक्रममा गौर–६ का वडाध्यक्ष अबधविहारी साह पनि नियन्त्रणमा लिइएका छन्।