निर्वाचन समयमै गराउन सरकार दृढ हुनुपर्छ : नेपाली कांग्रेस
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुन नदिन केही तत्त्व सक्रिय रहेको भन्दै सरकारलाई समयमै निर्वाचन सम्पन्न गराउन दृढतापूर्वक अघि बढ्न आग्रह गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसे ले लोकतान्त्रिक शासन व्यवस्थामा जनताको मत नै शासनको वैधताको एकमात्र स्रोत भएको बताएका हुन्। उनले निर्वाचन निर्धारित समयमा हुन नदिने प्रयासहरू भइरहेको दाबी गर्दै त्यस्ता गतिविधिलाई असफल बनाउँदै सरकार स्पष्ट अडानसहित अघि बढ्नुपर्ने बताए।
“निर्वाचन समयमा हुन नदिन विभिन्न तत्त्वहरू लागिरहेका छन्। सरकार दृढ भएर समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ,” प्रवक्ता चालिसेले भने, “लोकतान्त्रिक शासन व्यवस्थामा शासनको वैधताको स्रोत जनताको मत हो। जन सर्वोच्चतालाई हामीले स्वीकारेका छौँ।”
उनले सबै राजनीतिक दलहरूले निर्वाचनमा सहभागी हुनु नै लोकतान्त्रिक दायित्व भएको उल्लेख गर्दै वैकल्पिक सोचतर्फ नजान आग्रह गरे। निर्वाचनअघि राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्ने पूर्वराजा ज्ञानेन्द्र शाह को अभिव्यक्तिबारे प्रश्न उठ्दा उनले व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्ने तर शासनको वैधता निर्वाचनबाटै स्थापित हुने स्पष्ट पारे।
“सबैको व्यक्तिगत स्वतन्त्रता हुन्छ। निजी अभिव्यक्तिमा टिप्पणी छैन,” उनले भने, “तर अन्ततः जनताको मतबाट बनेको सरकार नै वैध सरकार हो र त्यसले नै जनताका समस्या समाधान गर्छ।” पत्रकार सम्मेलनमा उनले पछिल्लो समय विभिन्न दलबाट नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरिरहेको दाबी गर्दै त्यसले पार्टीलाई बहुमतको दिशामा अघि बढाएको पनि बताए।
कांग्रेसले निर्वाचनलाई लोकतन्त्रको मूल आधार मानेर सक्रिय तयारीमा जुटेको जनाएको छ।













