उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि चुनावी गतिविधि तीव्र
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि चुनावी गतिविधि तीव्र बनेको छ।
महासंघको ६०औँ वार्षिक साधारण सभा आगामी चैत २८ र २९ गते आयोजना हुँदैछ, जसबाट नयाँ कार्यसमिति चयन गरिनेछ। विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति हुनेछन्। तर वरिष्ठ उपाध्यक्षसहित अन्य उपाध्यक्ष पदहरूमा भने प्रतिस्पर्धात्मक निर्वाचन हुनेछ।
यसैक्रममा वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी हेमराज ढकाल ले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएका छन्। हाल वस्तुगततर्फ उपाध्यक्ष रहेका ढकालले संस्थागत निरन्तरता र निजी क्षेत्रको सशक्त आवाज उठाउने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिन लागेको स्रोतले जनाएको छ।
ढकाल नेतृत्वको प्यानलबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदवार बन्ने तयारीमा छिन्। उनी हाल पनि सोही पदमा कार्यरत रहेकाले निरन्तरता र अनुभवलाई चुनावी एजेन्डा बनाउने तयारीमा रहेको बताइएको छ।
त्यस्तै, जिल्ला/नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ तथा महिलातर्फ उपाध्यक्षमा कमला श्रेष्ठ उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका छन्। महासंघको नयाँ नेतृत्व चयनले निजी क्षेत्रको नीतिगत धारणा, सरकारसँगको समन्वय र आर्थिक एजेन्डाको प्राथमिकता निर्धारणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
चुनाव नजिकिँदै जाँदा विभिन्न प्यानलबीच प्रतिस्पर्धा अझ रोचक बन्ने देखिएको छ।












