धादिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु, २८ घाइते

User Image Prime TV News १ हप्ता अगाडि
Image of धादिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु, २८ घाइते

धादिङ । सोमबार बिहान धादिङको त्रिशूली नदीमा यात्रुबाहक बस खस्दा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमा ११ पुरुष र ६ महिला रहेका छन्।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बिहान करिब १:३० बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडाबाट अनियन्त्रित भई नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार बसमा करिब ४५ जना यात्रु सवार थिए। तीमध्ये ४४ जना पोखराबाट चढेका थिए भने मुग्लिनमा २ वा ३ जना थपिएको हुन सक्ने अनुमान गरिएको छ, तर यकिन भइसकेको छैन।

दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक छन् । दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार गरी नजिकका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। मृतक तथा घाइते सबैको सनाखत गर्ने काम अझै जारी छ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाट तथा कुरिनटारस्थित तालिम शिक्षालयबाट गोताखोरसहितको टोली खटिएको सशस्त्र प्रहरी बलका प्रवक्ताले जानकारी दिएका छन्।