ट्रम्प निवासको सुरक्षा घेरामा प्रवेश प्रयास, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु

User Image Prime TV News १ हप्ता अगाडि
Image of ट्रम्प निवासको सुरक्षा घेरामा प्रवेश प्रयास, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवासको सुरक्षा घेराभित्र जबर्जस्ती प्रवेश गर्न खोज्ने एक व्यक्ति सुरक्षाकर्मीको गोलीबाट मारिएका छन्। घटना हुँदा राष्ट्रपति ट्रम्प भने वाशिंगटन डीसीमा थिए।

सुरक्षा अधिकारीहरूका अनुसार ती व्यक्ति निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षामा खटिएका गोप्य सेवा एजेन्टहरू र पाम बीच काउन्टी शेरिफ कार्यालयका अधिकारीहरूले उनलाई रोकेका थिए। जाँचका क्रममा ती व्यक्तिसँग पेट्रोलको क्यान र बन्दुक रहेको खुलेको छ।

अधिकारीहरूले हतियार त्याग्न आदेश दिएपछि ती व्यक्तिले पेट्रोलको क्यान तल राखे पनि बन्दुकलाई प्रयोग गर्न सकिने अवस्थामा उठाएपछि सुरक्षाकर्मीले खतरा नियन्त्रण गर्न गोली चलाएको जनाइएको छ। घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ। मृतकको पहिचान सार्वजनिक गरिएको छैन।

घटनापछि ट्रम्प निवास वरपरको सुरक्षा व्यवस्था थप कडा पारिएको छ। अमेरिकी सुरक्षा निकायहरूले राष्ट्रपति लक्षित सम्भावित जोखिमलाई गम्भीर रूपमा लिएको बताएका छन्।

यसअघि सन् २०२४ मा फ्लोरिडा बाहिर अर्को राज्यमा भएको हत्या प्रयासपछि राष्ट्रपति वरिपरिको सुरक्षा प्रणाली उल्लेख्य रूपमा कडा बनाइएको थियो ।