मस्कोमा युक्रेनी ड्रोन आक्रमण प्रयासपछि चार अन्तर्राष्ट्रिय विमानस्थल बन्द
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । रुसले युक्रेनले आफ्नो राजधानी मस्कोमा आइतबार ड्रोन आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ।
रुसी एयर डिफेन्स प्रणालीले एक घण्टाभित्र ११ वटा युक्रेनी ड्रोन खसालेको जनाएको छ। घटनापछि सुरक्षालाई मध्यनजर गर्दै मस्कोका चारवटै अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएका छन्।
रुसी नागरिक उड्डयन निकायका अनुसार डोमोडेदोभो विमानस्थल, भ्नुकोभो विमानस्थल, झुकोभ्स्की विमानस्थल र शेरेमेत्येभो विमानस्थल बाट हुने सबै उडानहरू अर्को सूचना नआएसम्मका लागि रोकिएका छन्।
मस्कोका मेयर सर्गेई सोब्यानिन ले सामाजिक सञ्जालमार्फत राजधानीतर्फ आउँदै गरेको अर्को ड्रोनलाई पनि बीचमै इन्टरसेप्ट गरिएको जानकारी दिएका छन्। यससँगै खसालिएका ड्रोनहरूको संख्या ११ पुगेको छ।
रुसले लामो समयदेखि युक्रेन ले आफ्ना विभिन्न क्षेत्रहरूमा, विशेषगरी राजधानी मस्कोलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्दै आएको आरोप लगाउँदै आएको छ। यता रुस स्वयंले पनि युक्रेनमाथि निरन्तर मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको छ।













