जनअपेक्षा अनुरूप काम गर्न आएको हुँ, काम गर्न अवसर दिनुहोस् : बालेन शाह
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी बाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहले सोमबार आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै शाहले संसदमा बेथिति र भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने मुख्य संकल्प दोहोर्याएका छन्। शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उनले नीति निर्माण र कानुनी सुधारमा सक्रिय भूमिका खेल्ने दाबी गरेका छन्।
शाहले राजनीतिलाई पेसा नभई सेवाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्, “जनताले दिएको विश्वासलाई परिणाममा बदल्नु नै मेरो मुख्य उद्देश्य हो।” भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सार्वजनिक सेवा प्रणालीलाई चुस्त बनाउने विषयलाई उनले वाचापत्रको केन्द्रीय एजेन्डा बनाएका छन्।
शिक्षा क्षेत्रमा विद्यालय छाड्ने दर पूर्ण रूपमा अन्त्य गर्न ‘स्कुल रिटेन्सन प्रोग्राम’ लागू गर्ने, सामुदायिक विद्यालयमा स्मार्ट क्लास र प्रयोगशाला स्थापना गर्ने योजना अघि सारिएको छ। स्वास्थ्यतर्फ विपन्न परिवारका लागि नि:शुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० बेडको सुविधायुक्त अस्पतालमा स्तरोन्नति गर्ने र ‘घर–घर स्वास्थ्य सेवा कार्यक्रम’ मार्फत ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य जाँच गर्ने प्रतिबद्धता जनाइएको छ।
कृषि क्षेत्रलाई झापा–५ को मुख्य आर्थिक आधारका रूपमा चित्रण गर्दै शाहले कन्काई–रतुवा सिँचाइ योजना विस्तार, ‘एक पालिका, एक शीत भण्डार’ अवधारणा लागू गर्ने योजना सार्वजनिक गरेका छन्।
पूर्वाधार विकास अन्तर्गत दमक–रवि–चिसापानी सडक सम्पन्न गर्ने, हुलाकी सडक तथा पुलहरूको समयमै निर्माण गर्ने र दमकलाई स्मार्ट सिटीका रूपमा विकास गर्न आवश्यक संरचना निर्माण गर्ने उल्लेख गरिएको छ।
वाचापत्रमा महिला उद्यमीका लागि सहुलियतपूर्ण ऋण, सुरक्षित आवास (सेफ हाउस) को व्यवस्था र युवाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगारमा जोड्ने लक्ष्य समेटिएको छ। साथै, गौरादह कृषि क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने र दमकलाई पर्यटन ट्रान्जिट हब बनाउने योजना पनि अघि सारिएको छ।
भूमिहीन र सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट कानुन निर्माण र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने वाचा गर्दै शाहले “जनअपेक्षा अनुरूप काम गर्न आएको हुँ, काम गर्न अवसर दिनुहोस्” भन्दै मतदातासँग अपिल गरेका छन्।












