वीरगञ्जका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिका भित्रका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले आइतबार बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहाल ले जारी गरेको आदेशअनुसार तोकिएका क्षेत्रमा सर्वसाधारणको आवत–जावत पूर्ण रूपमा निषेध गरिएको छ। साथै भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठकजस्ता गतिविधिमा समेत कडाइका साथ प्रतिबन्ध लगाइएको छ।
प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटनालाई नियन्त्रणमा लिन कर्फ्यू जारी गर्नुपरेको स्पष्ट पारेको छ। सुरक्षा निकायलाई आदेश प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइएको छ भने स्थानीयवासीलाई आदेशको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।
कर्फ्यू सम्बन्धी थप विवरण र समयावधि परिस्थितिअनुसार पुनः समीक्षा गरिने प्रशासनले जनाएको छ।














