मकवानपुरमा रास्वपालाई झट्का, सभापति पराजुली कांग्रेसमा फर्किए

User Image Prime TV News १ हप्ता अगाडि
Image of मकवानपुरमा रास्वपालाई झट्का, सभापति पराजुली कांग्रेसमा फर्किए

काठमाडौ । मकवानपुरमा राजनीतिक तरंग पैदा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन्। उनी पुनः आफ्नो पुरानो राजनीतिक दल नेपाली कांग्रेसमा फर्किएका हुन्।

रास्वपा मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा जिल्ला स्तरीय सभा गरिरहेका बेला पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका थिए। उनलाई कांग्रेसका महामन्त्री गगनकुमार थापा ले स्वागत गरेका हुन्।

कांग्रेस प्रवेशपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पराजुलीले पार्टीभित्र विकसित प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्। उनले सीमित व्यक्तिको प्रभाव, चाकरी संस्कार र आलोचना नस्वीकार्ने वातावरणले आफू निराश बनेको उल्लेख गरेका छन्। आफूले विश्वास गरेको मूल्य र व्यवहारबीच दूरी बढ्दै गएको महसुस भएपछि पार्टी छोड्ने निर्णयमा पुगेको उनको भनाइ छ।

मनहरी गाउँपालिका निवासी पराजुली ६ मंसिर २०८१ मा सम्पन्न रास्वपा मकवानपुरको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रूपमा सभापतिमा चयन भएका थिए। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेर १२ हजार ३९ मतसहित तेस्रो स्थानमा रहेका थिए।

उक्त निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार विजयी भएका थिए भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार दोस्रो स्थानमा रहेका थिए। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाएपछि उनी असन्तुष्ट बनेको स्रोतको दाबी छ। पार्टीका सभापति रवि लामिछानेले अन्तिम समयसम्म मनाउने प्रयास गरे पनि पराजुलीले कांग्रेस रोजेका हुन्।