रौतहटमा कर्फ्यू पूर्ण रूपमा हट्यो, अवस्था सामान्य

User Image Prime TV News १ हप्ता अगाडि
Image of रौतहटमा कर्फ्यू पूर्ण रूपमा हट्यो, अवस्था सामान्य

रौतहट । रौतहटको सदरमुकाम गौमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यू आदेश सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाइएको छ। नगरपालिका–६ सबगढा क्षेत्रमा दुई समुदायबीच उत्पन्न विवाद समाधानतर्फ उन्मुख भएसँगै जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू हटाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय रौतहट ले गत शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको थियो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(९)(क) अनुसार लागू गरिएको उक्त आदेशअन्तर्गत आवत–जावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाइएको थियो।

कर्फ्यूको दायरा पूर्वमा मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय गेटसम्म तोकिएको थियो। साम्प्रदायिक तनाव, सम्भावित झडप र शान्ति–सुरक्षामा जोखिम देखिएपछि प्रशासनले यस्तो कदम चालेको जनाएको थियो।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल का अनुसार स्थिति नियन्त्रणमा आएपछि दुवै पक्षबीच संवाद र सहमतिमार्फत वातावरण सामान्य बन्दै गएको निष्कर्ष निकालिएको छ। उनले हाल जिल्लाको शान्ति सुरक्षा अवस्था सामान्य रहेको र नागरिकलाई अफवाहमा नपर्न आग्रह गरेका छन्।

कर्फ्यू हटेसँगै गौरका बजार, शैक्षिक संस्था तथा सरकारी कार्यालयहरू क्रमशः सञ्चालनमा आउन थालेका छन् भने स्थानीय जनजीवन सामान्य बन्दै गएको छ। प्रशासनले शान्ति कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अनुरोध गरेको छ।