पृथ्वी राजमार्गमा बस दुर्घटना: मृतकको संख्या १९ पुग्यो , घाइतेहरूको उपचार जारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of पृथ्वी राजमार्गमा बस दुर्घटना: मृतकको संख्या १९ पुग्यो , घाइतेहरूको उपचार जारी

काठमाडौ । धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङ् चरौंदी नजिकै गएराति भएको दुर्घटनामा घाइतेमध्ये थप दुई जनाको उपचारका क्रममा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृत्यु हुनेमा एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। यसअघि घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो। पछिल्लो दुई जनाको उपचारका क्रममा निधन भएसँगै मृतक संख्या १९ पुगेको प्रहरीले जनाएको छ।

आइतबार साँझ पोखराबाट काठमाडौँतर्फ छुटेको ग २ ख १४२१ नम्बरको बस सोमबार राति करिब १ बजेतिर त्रिशुली नदिमा किनारमा खसेको थियो। दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य गरिएको थियो।

घाइतेहरूलाई धादिङ तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। हाल २८ जना घाइतेहरूको परिचय खुलेको प्रहरीले जनाएको छ भने मृतकहरूको सनाखत प्रक्रिया जारी रहेको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रशासनले यात्रुहरूको अवस्थाबारे आवश्यक समन्वय र सहयोग गरिरहेको बताइएको छ।