किम जोङ उन पुन: उत्तर कोरियाको वर्कर्स पार्टी महासचिव बने

User Image Prime TV News १ हप्ता अगाडि
Image of किम जोङ उन पुन: उत्तर कोरियाको वर्कर्स पार्टी महासचिव बने

काठमाडौ । उत्तर कोरियाको सत्तारूढ ‘वर्कर्स पार्टी अफ कोरिया’ले किम जोङ उनलाई सर्वसम्मत रूपमा महासचिवमा पुन: चयन गरेको छ। यो निर्णय किम परिवारले सन् १९४० को दशकदेखि देशमा शासन गर्दै आएको सन्दर्भमा अपेक्षित मानिएको छ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले आइतबार पार्टीको महासभाबाट यो निर्णय सार्वजनिक गरेको हो। सन् २०११ मा पिता किम जोङ इलको निधनपछि किमले सत्ता सम्हालेका थिए। पार्टी महासभामा ३९ सदस्यीय कार्यकारी समितिमा व्यापक फेरबदल गरिएको छ।

राज्य सञ्चारमाध्यमका अनुसार आधाभन्दा बढी सदस्य परिवर्तन गरिएको छ, जसले नेतृत्वको स्थिरता कायम राख्दै नयाँ रणनीतिक मोड अपनाएको संकेत दिन्छ। किमको नेतृत्वमा उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ।

केसीएनएका अनुसार, देशको युद्ध प्रतिरोध क्षमता उल्लेखनीय रूपमा सुदृढ गरिएको छ र केन्द्रमा आणविक शक्ति रहेको दाबी गरिएको छ। बीबीसीका विश्लेषकहरूले भने, लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दा पनि उत्तर कोरियाले आफ्नो आणविक र अन्तरमहादेशीय क्षेप्यास्त्र कार्यक्रम निरन्तर अगाडि बढाइरहेको देखिएको बताएका छन्।

फेब्रुअरी १९ देखि सुरु भएको पार्टी महासभामा करिब ५ हजार सदस्यको सहभागिता रहेको छ। यस बैठकलाई देशकै सबैभन्दा महत्वपूर्ण राजनीतिक कार्यक्रम मानिन्छ। यसबाट विदेश नीति, अर्थतन्त्र, र आणविक महत्वाकांक्षाबारे नयाँ संकेतहरू पाईने अपेक्षा गरिएको छ।

किमले महासभाको उद्घाटन सम्बोधनमा देशको अर्थतन्त्र सुधार्ने र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यसलाई “गम्भीर र तत्कालीन ऐतिहासिक कार्यभार”को रूपमा व्याख्या गरेका छन्।