प्रदीप पौडेलले काठमाडौ–५ का विकासका लागि १४ बुँदे प्रतिज्ञा सार्वजनिक
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौ–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो आगामी कार्यकालका लागि १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिज्ञापत्रमा उनले क्षेत्रको समग्र विकास, नीतिगत सुधार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र डिजिटल नवप्रवर्तनमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। पौडेलले आफ्नो प्रतिज्ञापत्रमा २०७९ सालमा सांसद हुँदा गरेका प्रतिबद्धताहरू पूरा गर्न जारी प्रयासको उल्लेख गर्दै रिङ रोड दोस्रो खण्ड, सामाखुसी–टोखा सडक, विष्णुमति करिडोर, साङ्लेखोला करिडोर र मेलम्ची खानेपानी विस्तारजस्ता काम अघि बढेको बताएका छन्।
उनले क्षेत्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कुलमा रूपान्तरण गर्ने, स्थानीय मातृभाषा र मौलिक सीप पाठ्यक्रममा समावेश गर्ने, प्रविधिमैत्री शिक्षण वातावरण बनाउन सार्वजनिक–निजी साझेदारीमार्फत काम गर्ने प्रतिबद्धता जनाएका छन्।
स्वास्थ्य क्षेत्रमा पौडेलले सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने, काठमाडौ–५ लाई मेडिकल हबका रूपमा विकास गर्ने र राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठलाई अत्याधुनिक बनाउने योजना सार्वजनिक गरेका छन्।
व्यवसाय र डिजिटल नवप्रवर्तनमा उनले व्यवसायमैत्री कानुन निर्माण, झन्झटिलो दर्ता–बन्द प्रक्रिया सुधार, एआई र डिजिटल मार्केटिङमा उच्चस्तरीय तालिम र डिजिटल इनोभेसन हब निर्माणको योजना सार्वजनिक गरेका छन्।
भूमि र सार्वजनिक जग्गाको व्यवस्थापनमा उनले भूमिविहीनको पहिचान, लालपुर्जा वितरण, सार्वजनिक पार्क र पूर्वाधार निर्माणमा प्रयोगको प्रतिबद्धता जनाएका छन्। पर्यटन र सांस्कृतिक क्षेत्रको विकासका लागि हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, टुँडाल, धुम्बाराही, अजिमाल क्षेत्रलाई खुला संग्रहालय र पर्यटकीय गन्तव्य बनाउने, स्थानीय सांस्कृतिक परम्पराहरूको ब्राण्डिङ गर्दै पर्यटन लाभ बढाउने प्रतिबद्धता पनि पौडेलले जनाएका छन्।
पूर्वाधार विकास र यातायात सुधारमा उनले ढल व्यवस्थापन, सहरी डुबान रोकथाम, स्ट्रोमा वाटर ड्रेनेज, व्यवस्थित सार्वजनिक यातायात, मास ट्रान्सपोर्ट प्रणाली, डिजिटल भुक्तानी, रियल टाइम सूचना प्रणाली, चक्रपथ विस्तार, अन्डर पास/फ्लाइओभर निर्माण र सामाखुसी–विष्णुमति करिडोर सडक स्तरोन्नति गर्ने योजना सार्वजनिक गरेका छन्।
डिजिटल रूपान्तरण र अनुसन्धानमा उनले सरकारी निकायबीच इन्टरअपरेबल डेटा एक्सचेन्ज अनिवार्य गर्ने, नेपाली प्रविधि कम्पनीलाई विश्व बजारमा विस्तार गर्न कानुनी सुनिश्चितता दिने, विश्व विश्वविद्यालयहरूसँग सहकार्य गरी अनुसन्धान र विकास प्रोत्साहन गर्ने, तथा नेपालकै लार्ज ल्याङ्ग्वेज मोडल निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
पौडेलले आफ्नो प्रतिज्ञापत्रमार्फत क्षेत्रको समग्र सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासका लागि नीति, योजना र कार्यान्वयनमा व्यापक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।














