बालेन्द्र शाहलाई उपेन्द्र यादवको प्रश्नः मधेश मुद्दामा धारणा के हो ?
Prime TV News १ हप्ता अगाडि 
भैरहवा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लडाइँ हुँदा बालेन शाह कहाँ थिए भनेर प्रश्न उठाएका छन्।
यादवले मधेशको मुद्दामा बालेनको कुनै धारणा नभएको भन्दै राष्ट्रिय राजनीतिमा वैचारिक स्पष्टता र दर्शनको कमी रहेको बताए। सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने,“राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिदैन। वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन।”
अध्यक्ष यादवले मधेशको समस्या, आदिवासीजनजाति, महिला, उत्पीडित वर्ग, दलित, मुस्लिम, थारू र पिछडा वर्गको राष्ट्रिय समस्याका रूपमा समाधान गर्नुपर्नेमा जोड दिए। उनले जसपा नेपालले यी मुद्दा बोकेको दाबी गर्दै भने, “मधेशका जनताले हामीलाई राम्रोसँग बुझेका छन्। सामाजिक सञ्जालमा अलि बढी आवाज भए पनि यथार्थ ग्राउन्ड रियालिटी त्यस्तो देखिँदैन।”
यादवले विगत ३५ वर्ष कांग्रेस र कम्युनिस्ट नेतृत्वमा बनेका सरकारले कृषि, शिक्षा, स्वास्थ्य र उद्योगमा सुधार नगरेको आरोप लगाउँदै भने कि यी पार्टीहरूले अर्काको पार्टी फुटाउने काम मात्र गरेको बताए। संविधान त्रुटिपूर्ण भएको र समयक्रमसँगै संविधान संशोधन अपरिहार्य भएकोमा पनि उनले जोड दिए।
त्यस्तै, पार्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेश आन्दोलनको बेला राज्यले निर्दोष नागरिकमाथि हिंसा गर्दा पनि संयमित भएर आन्दोलन अगाडि बढाएको स्मरण गरे। “राज्यको अर्थतन्त्रलाई बचाएनौं भने भोली त्यसको भोगाइमा हामी पनि पर्छौं भन्ने कुरामा जहिले पनि सर्तक छौं।”
यादवले मंगलबार कोटहीमाई गाउँपालिका–७, परसहवामा आयोजित आमसभालाई सम्बोधन गर्दै पार्टीको दृष्टिकोण, राष्ट्रिय समस्या र आगामी राजनीतिक अभियानबारे उपस्थित जनतालाई जानकारी दिएका थिए।













