नेप्से सामान्य अंकले उकालो, कारोबार रकममा भने गिरावट
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक सोमबार सामान्य अंकले बढ्दै २६१६.९७ विन्दुमा बन्द भएको छ। परिसूचक २.४१ अंकले उकालो लागे पनि बजारमा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
आइतबार ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा सोमबार घटेर ५ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको हो। सोमबार कुल ३२९ वटा धितोपत्रको एक करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच भएको थियो।
कारोबारमा आएका कम्पनीमध्ये ११३ वटाको सेयरमूल्य बढ्दा १४० वटाको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ। यस तथ्यांकले बजारमा मिश्रित अवस्था देखिएको संकेत गर्छ। यसदिन साल्पा विकास बैंक को सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले वृद्धि भएको छ।
समग्रमा परिसूचक सामान्य रुपमा बढे पनि कारोबार रकम घट्नुले बजारमा स्पष्ट दिशा नदेखिएको विश्लेषकहरू बताउँछन्।












