सावित्रा भण्डारी (साम्बा) द्वारा सहयोग अपिल, जटिल शल्यक्रियाका लागि ८० हजार डलर आवश्यक
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै आर्थिक सहयोगको अपिल गरेकी छन्।
सात हप्तादेखि मैदानबाहिर रहेकी उनले यसअघि गरिएको शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसिएल (मिडियल कोलेटरल लिगामेन्ट) दुवैमा क्षति पुगेको जानकारी दिएकी छन्। सामाजिक सञ्जालमार्फत उनले अब थप जटिल शल्यक्रिया अपरिहार्य भएको उल्लेख गर्दै उपचार प्रक्रिया ढिलाइ हुँदा पुनरागमनसमेत प्रभावित हुने चिन्ता व्यक्त गरेकी छन्।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा उपचार र आर्थिक व्यवस्थापन भएको स्मरण गर्दै उनले यसपटक भने वाचा गरिएअनुसार सहयोग नपाएको गुनासो गरेकी छन्। उनका अनुसार चोट लागेको तीन सातापछि आफू आबद्ध क्लबले शल्यक्रियाको मिति तय गरे पनि एन्फाले आफ्नै तर्फबाट पहल गर्ने जनाएपछि प्रक्रिया अघि बढ्न सकेन।
पछि एन्फा अध्यक्षले प्रशासनिक सहयोग सम्भव नभएको र अधिकतम पाँच लाख रुपैयाँ नगद सहयोग गर्ने प्रस्ताव राखेको उनले बताएकी छन्। यसबीचमा अघिल्लो प्रक्रिया रोकिँदा करिब दुई महिना ढिला गरी मात्र पुनः शल्यक्रियाको मिति तय गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
हाल न्युजिल्यान्डस्थित क्लबमा आबद्ध सावित्राले गम्भीर चोटका कारण उच्चस्तरीय उपचार आवश्यक भएको बताउँदै कतारको एक अस्पतालमा उपचार गराउने इच्छा व्यक्त गरेकी छन्। क्लबले बीमाबाट प्राप्त हुने रकम उपलब्ध गराउने जनाएको भए पनि शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापन खर्चका लागि त्यो रकम अपुग हुने देखिएको छ।
प्रारम्भिक अनुमानअनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर आवश्यक पर्नेछ। सरकारी स्तरबाट सहयोगका लागि पहल भइरहे पनि प्रक्रिया सुस्त गतिमा अघि बढेकाले आफूले समर्थक र शुभेच्छुकसमक्ष सिधै सहयोगको अपिल गर्नुपरेको सावित्राले उल्लेख गरेकी छन्।












