बालेनलाई लक्षित गर्दै ओली भने बच्चालाई सोध्यो भने उसले प्रधानमन्त्री बन्छु भन्छ

User Image Prime TV News १ हप्ता अगाडि
Image of बालेनलाई लक्षित गर्दै ओली भने बच्चालाई सोध्यो भने उसले प्रधानमन्त्री बन्छु भन्छ

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सरकारबाट हटाइएपछि देश ‘ड्राइभरबिनाको गाडी’ जस्तो अवस्थामा पुगेको बताएका छन्।

झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वर्तमान नेतृत्वले देशलाई सही दिशा दिन नसकेको आरोप लगाए। ओलीले देशको विकास र स्थायित्वका लागि अनुभवी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आफू पुनः सरकारको नेतृत्वमा आउनुपर्ने दाबी गरे। “देश उठ्नका लागि स्पष्ट योजना, दृढ इच्छाशक्ति र गन्तव्य चाहिन्छ,” उनले भने, “त्यो क्षमता एमालेसँग छ।”

सभामा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै प्रधानमन्त्रीको उम्मेदवारीबारे टिप्पणी गरे। प्रधानमन्त्री बन्ने कुरा घोषणा गर्दैमा सम्भव नहुने भन्दै उनले त्यसलाई ‘ख्यालख्याल जस्तो’ भएको टिप्पणी गरे। “बच्चालाई सोध्यो भने उसले प्रधानमन्त्री पनि भन्छ, राष्ट्रपति पनि भन्छ, तर भनिदिँदैमा भइहाल्ने कुरा होइन,” ओलीको भनाइ थियो।

उनले आफू स्पष्ट कार्ययोजना र दीर्घकालीन सोचसहित अघि बढेको जिकिर गर्दै आगामी निर्वाचनमार्फत जनताले स्थिर र सक्षम नेतृत्व रोज्ने विश्वास व्यक्त गरे ।