शक्तिशाली हिमआँधीले पूर्वी अमेरिका ठप्प, इतिहासकै ठूलो हिमपात र व्यापक अवरोध
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाको पूर्वी तटमा सोमबार आएको शक्तिशाली हिमआँधीले जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाएको छ।
रेकर्ड तोड्ने हिमपातका कारण यातायात, विद्युत् आपूर्ति र हवाई सेवा गम्भीर रूपमा प्रभावित भएका छन्। लाखौँ मानिस प्रत्यक्ष असरमा परेका छन् भने हजारौँ उडान रद्द भएका छन्।
रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा करिब ३३ इन्च सम्म हिउँ परेको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ । हिमपातले सन् १९७८ मा कायम २८.६ इन्चको पुरानो कीर्तिमान तोड्दै इतिहासकै सबैभन्दा ठूलो हिमपातको रेकर्ड बनाएको छ।
न्यूयोर्क सिटी पनि अवस्था अत्यन्तै खराब रह्यो। सेन्टर्ल पार्कमा १९ इन्चभन्दा बढी हिउँ जमेको छ। राज्य निकायले यात्रा अवस्था ‘झन्डै असम्भव’ भएको चेतावनी दिएपछि केही समयका लागि शहर प्रायः ठप्प जस्तै बनेको थियो।
हिमआँधीका कारण पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्। विशेषगरी म्यासाचुसेट्स र न्यु जर्सीमा क्षति बढी देखिएको छ। म्यासाचुसेट्समा मात्रै करिब ३ लाख उपभोक्ता विद्युत् विहीन भएका छन् । जसमा केप कोड क्षेत्र पर्ने बार्नस्टेबल काउन्टीका अधिकांश घरधुरी प्रभावित भएका छन्।
सडक यातायात झनै जोखिमपूर्ण बनेको छ। रोड आइल्याण्ड र कनेक्टिकटमा अत्यावश्यक बाहेकका सबै यात्रामा प्रतिबन्ध लगाइएको छ। म्यासाचुसेट्सकी गभर्नर मउरा हिलीले दक्षिण पूर्वी क्षेत्रमा गैर आवश्यक सवारी चलाउन रोक लगाउँदै प्रमुख राजमार्गमा गति सीमा ४० माइल प्रतिघण्टामा सीमित गर्न निर्देशन दिएकी छन्। ‘ह्वाइटआउट’ अवस्थाका कारण यात्रा अत्यन्त खतरनाक भएको भन्दै सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ।
मौसम विभागका अनुसार मंगलबार बिहानसम्म थप १ देखि २ फिटसम्म हिउँ पर्न सक्ने अनुमान गरिएको छ। मौसम सुधार हुन अझै समय लाग्ने देखिएको छ। विज्ञहरूले यस हिमआँधीलाई पूर्वी अमेरिकाका लागि हालसम्मकै सबैभन्दा विनाशकारी शीतकालीन घटनामध्ये एक भएको बताएका छन्।













