आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्ड र पाकिस्तान हुँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणमा आज समूह दुईको महत्त्वपूर्ण खेल हुँदैछ। समूह दुईमा रहेका इंग्ल्यान्ड र पाकिस्तान मंगलबार आमनेसामने हुन लागेका हुन्। खेल नेपाली समयअनुसार साँझ ७ बजेर १५ मिनेटमा पालिखेल क्रिकेट मैदान मा सुरु हुनेछ ।
सुपर–८ को हालको अवस्थाले इंग्ल्यान्डलाई स्पष्ट रूपमा फाइदामा राखेको छ। इंग्ल्यान्डले पहिलो खेलमै सहआयोजक श्रीलंका लाई ५१ रनले हराउँदै दुई अंक जोडिसकेको छ। त्यसको ठीक उल्टो अवस्थामा पाकिस्तान छ। पाकिस्तानको पहिलो खेल न्युजिल्यान्ड सँग वर्षाका कारण अवरुद्ध हुँदा दुबै टोलीले अंक बाँडेका थिए, जसका कारण पाकिस्तानसँग केवल एक अंक मात्रै छ।
चार टोलीले एक–एक खेल खेलिसक्दा समूह दुईमा इंग्ल्यान्ड दुई अंकसहित शीर्ष स्थानमा छ भने पाकिस्तान एक अंकसहित तेस्रो स्थानमा छ। आजको खेल पाकिस्तानका लागि “गर या मर” जस्तै छ। हारले सेमिफाइनलको बाटो लगभग बन्द हुनेछ।
उता सुपर–८ को समूह एकमा वेस्ट इन्डिज र दक्षिण अफ्रिका ले एक–एक जित निकाल्दै बलियो दाबी प्रस्तुत गरेका छन्। भारत र जिम्बाबे भने अझै जितविहीन छन्। भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भयो भने जिम्बाबे वेस्ट इन्डिजसँग १०७ रनको ठूलो अन्तरले पराजित भएको थियो।
२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बाबे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका हुन्। समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाबे रहेका छन् भने समूह दुईमा इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।
आईसीसी टी–२० विश्वकप २०२६ को फाइनल फागुन २४ गते हुनेछ। यसैबीच, नेपाल भने समूह चरणमै कमजोर प्रदर्शन गर्दै प्रतियोगिताबाट बाहिरिइसकेको छ, जुन नेपाली क्रिकेटका लागि निराशाजनक यथार्थ हो।












