वसन्तपुरमा चीर ठड्याइयो, होली पर्वको औपचारिक सुरुवात

User Image Prime TV News १ हप्ता अगाडि
Image of वसन्तपुरमा चीर ठड्याइयो, होली पर्वको औपचारिक सुरुवात

काठमाडौ । काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा होली पर्वको औपचारिक सुरुवात गरिएको छ। मंगलबार बिहान परम्पराअनुसार रंगीविरंगी कपडाका ध्वजापताकासहित तीन खण्डे होली चीर ठड्याइएसँगै राजधानी काठमाडौँलगायत देशभर होली सुरु भएको मानिएको छ।

चीर हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक र दाखचोक क्षेत्रमा ठड्याइएको हो। करिब ३२ फिट उचाइको, गजुरजस्तो देखिने तीन खण्डे चीर परम्परागत शैलीमा स्थापना गरिएको थियो। चीर ठड्याएपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो, जसले वसन्तपुर क्षेत्रलाई पूर्ण रूपमा उत्सवमय बनाएको थियो।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार चीर ठड्याउन उत्तम साइत रहेको निर्णय गरेपछि आजै चीर ठड्याइएको हो। वसन्तपुरमा चीर ठड्याउने परम्परालाई होली पर्वको आधिकारिक सुरुवातको संकेतका रूपमा लिने गरिन्छ, जुन पौराणिक कालदेखि निरन्तर चलिआएको छ।

होली पर्व वसन्त ऋतुको आगमनसँग जोडिएको सांस्कृतिक तथा धार्मिक पर्व हो। यस अवसरमा मानिसहरू एक अर्कामा रङ र अबिर लगाउँदै आपसी मेलमिलाप र खुसी साटासाट गर्छन्। धार्मिक विश्वासअनुसार यो पर्व असत्यमाथि सत्यको विजयको प्रतीक पनि हो।

धार्मिक कथनअनुसार असुरराज हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्रह्लादलाई मार्न खोज्दा उनकी बहिनी होलिकाको काखमा राखी आगो लगाएका थिए। तर आगोले भक्त प्रह्लादलाई केही असर नगरी होलिका नै भस्म भएकी थिइन्। यही घटनाको सम्झनामा होली पर्व मनाउने चलन रहेको धार्मिक विश्वास छ।

यसरी वसन्तपुरमा चीर ठड्याइएसँगै धार्मिक आस्था, सांस्कृतिक परम्परा र उत्सवको सन्देश बोकेर यस वर्षको होली पर्व औपचारिक रूपमा सुरु भएको छ।