झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना: सात जनाको मृत्यु
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । भारतको झारखण्ड राज्यको चतरा जिल्लामा सोमबार बेलुकी एयर एम्बुलेन्स दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ। राँचीबाट एक गम्भीर बिरामीलाई उपचारका लागि दिल्ली लैजाँदै गरेको विमान दुर्घटनामा परेको हो। दिल्लीस्थित रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी ९० (भिटी-एजेभी) विमान साँझ ७:११ बजे राँचीको बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो। भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार उडानपछि कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क स्थापित भएको थियो र प्रतिकूल मौसमका कारण मार्ग परिवर्तन (डाइभर्सन) को अनुरोध गरिएको थियो। तर साँझ ७:३४ बजे वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुग्दा कोलकातासँगको सञ्चार र रडार सम्पर्क एकाएक विच्छेद भएको बताइएको छ। त्यसपछि विमान वाराणसी वा लखनउ एयर ट्राफिक कन्ट्रोलसँग पनि सम्पर्कमा आएको थिएन। वाराणसी रडार रिप्ले परीक्षणमा अन्तिम रडार सम्पर्क साँझ ७:२२ बजे देखिएको जनाइएको छ। हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा ४१ वर्षीय सञ्जय कुमारसहित सातै जनाको मृत्यु भएको छ। सञ्जय आगलागीको घटनामा ६३ प्रतिशत जलेर गम्भीर घाइते भएका थिए र थप उपचारका लागि दिल्ली लगिँदै थिए। उनीसँग उनका सहयोगी विकास गुप्ता पनि सवार थिए। विमानमा चिकित्सक सचिन कुमार मिश्र, स्वास्थ्यकर्मी अर्चना देवी र धुरु कुमार तथा दुई क्याप्टेन विवेक विकास भगत र सवराजदीप सिंह रहेका थिए। सबैको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। राँची विमानस्थलका निर्देशक विनोद कुमारले प्रारम्भिक रूपमा खराब मौसम दुर्घटनाको सम्भावित कारण हुन सक्ने बताएका छन्। यद्यपि, वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्र स्पष्ट हुने उनले बताए। घटनाको औपचारिक छानबिन प्रक्रिया सुरु गरिएको छ ।













