भर्जिनियामा नेपाली परिवारमा त्रासदी: दुईको हत्या, एक गम्भीर घाइते
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान भएको एक पारिवारिक हिंसात्मक घटनामा नेपाली मूलका एक पुरुषसहित तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार ५० वर्षीय छत्रबहादुर थापाले पर्सिमोन ड्राइभमा रहेको आफ्नै अपार्टमेन्टभित्र श्रीमती र छोरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। करिब १० इन्च लामो धारिलो हतियार प्रयोग गरी गरिएको आक्रमणमा ५१ वर्षीया बिन्दा थापा र ३१ वर्षीया ममता थापाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घटना देखेपछि ३५ वर्षीय ज्वाइँ सन्तोष कुमार बस्नेतले प्रहरीमा खबर गरेका थिए। छत्रबहादुरले बस्नेतमाथि पनि आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ र अवस्था चिन्ताजनक रहेको बताइएको छ।
प्रहरी घटनास्थलमा पुग्दा छत्रबहादुर बस्नेतमाथि आक्रमण गरिरहेको अवस्थामा भेटिएका थिए। हतियार फाल्न बारम्बार चेतावनी दिँदा नमानेपछि प्रहरीले गोली चलाएको जनाएको छ। गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको हो। घटनाका क्रममा घरमै रहेका एक वर्षीय शिशु भने सुरक्षित रहेका छन्।













