दाङ–१ मा नेकपामा विद्रोह: ४७ संगठित सदस्यद्वारा सामूहिक राजीनामा, स्वतन्त्र उम्मेदवार केसीलाई समर्थन
Prime TV News १ हप्ता अगाडि 
दाङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दाङ क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी भित्रै ठूलो राजनीतिक हलचल देखिएको छ। नेकपाका ४७ जना संगठित सदस्यहरूले सामूहिक रूपमा पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुल प्रसाद केसी (सोनाम) लाई समर्थन गर्ने घोषणा गरेका छन्।
देउखुरीको मौरीघाटमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको जानकारी दिएका हुन्। राजीनामा दिएका नेता कार्यकर्ताहरू पूर्वमाओवादी खेमासँग आबद्ध रहेको जनाइएको छ। उनीहरूले अब केसीको पक्षमा चुनाव प्रचार प्रसारमा सक्रिय रूपमा लाग्ने बताएका छन्।
दाङ–१ मा नेकपाले आधिकारिक उम्मेदवारका रूपमा साविक एकीकृत समाजवादीका नेता मेटमणि चौधरी लाई टिकट दिएको थियो। सो निर्णयप्रति असन्तुष्टि जनाउँदै केसीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको आरोपमा पार्टीले कारबाही प्रक्रिया अगाडि बढाएपछि असन्तुष्ट समूहले सामूहिक राजीनामाको कदम चालेको हो।
चुनावको मुखमा भएको यो निर्णयले नेकपाका आधिकारिक उम्मेदवार चौधरीलाई धक्का लाग्ने आकलन स्थानीय स्तरमा गरिएको छ। मत विभाजनको सम्भावनाले यस क्षेत्रको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
दाङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, नेकपा एमालेका रेवतिरमण शर्मा घिमिरे, तथा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक लगायत प्रमुख दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। चुनावी समीकरण बदलिँदै जाँदा दाङ–१ को नतिजा केसीको विद्रोही उम्मेदवारी र पूर्वमाओवादी समूहको समर्थनले कत्तिको प्रभावित पार्छ भन्ने चासो बढेको छ।













