६ दिनमै सुन प्रतितोला १४ हजार ४ सयले महँगियो, चाँदीमा सामान्य गिरावट
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पछिल्ला केही दिनयता सुनको भाउ निरन्तर उकालो लागिरहेको छ। ६ दिनको अवधिमा मात्रै सुन प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढेको छ।
गत बुधबार प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन ३ लाख १३ हजार ५ सय रुपैयाँ रहेको सुन आज १ हजार ३ सय रुपैयाँले बढेको हो।
यसअघि माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य ३ लाख ३९ हजार रुपैयाँ प्रतितोला पुगेको थियो। त्यसपछि केही दिन घटेको सुनको मूल्य पछिल्ला ६ दिनदेखि लगातार बढ्दो क्रममा देखिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण मूल्यमा उतारचढाव आएको व्यवसायीहरू बताउँछन्।
यता, चाँदीको भाउ भने आज सामान्य घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ५९५ रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँले घटेर ५ हजार ५८५ रुपैयाँमा कायम भएको छ। यद्यपि, ६ दिनको अवधिमा चाँदी पनि प्रतितोला ७०५ रुपैयाँले बढेको छ। गत बुधबार चाँदी ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
सुन–चाँदीको मूल्यमा देखिएको पछिल्लो वृद्धिले बजारमा पुनः चहलपहल बढाएको छ भने उपभोक्तामा भने मूल्यवृद्धिको असर परेको छ।












