प्रधानमन्त्री कार्कीले मानव अधिकारप्रति नेपालको प्रतिबद्धता दोहोर्याइन्
Prime TV News १ हप्ता अगाडि काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मानव अधिकारप्रतिको अटल प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा पुनः स्पष्ट पारेकी छन्।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विश्वले भोगिरहेका जलवायु परिवर्तन, द्वन्द्व र प्राकृतिक विपद् जस्ता चुनौतीका बाबजुद मानव अधिकारको संरक्षणलाई निरन्तर कायम राख्नुपर्नेमा जोड दिएकी छन्।
प्रधानमन्त्री कार्कीले सन् २०२६ का लागि परिषद्को अध्यक्षमा निर्वाचित व्यक्तित्वलाई बधाई दिँदै मानव अधिकारलाई संस्थागत गर्नु र यसलाई समाजमा संस्कृतिका रूपमा विकास गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताइन्। उनले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय तरिकाले टुङ्ग्याउन सरकार दृढ रहेको दोहोर्याइन्।
यसै सन्दर्भमा उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई पुनर्गठन गरिएको जानकारी दिइन् र शान्ति प्रक्रियाका बाँकी कामहरू निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको तयारी पनि उनले उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले गत भदौमा भएको जेनजी युवा आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका मागहरू सम्बोधन गर्नु सरकारको मुख्य म्यान्डेट रहेको बताइन्। उनले नेपाल हाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने मुलुक भएको स्मरण गराउँदै नेपाली शान्ति सैनिकहरूले विश्वभर मानव अधिकार र नागरिक सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरिन्।
मानव अधिकारलाई ‘विश्वव्यापी साझा सम्पत्ति’ का रूपमा व्याख्या गर्दै उनले यसको संरक्षण र संवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न नेपाल सधैं तयार रहेको धारणा व्यक्त गरिन्।













