प्रचण्डद्वारा वाम आन्दोलन एकताबद्ध हुन सबै कम्युनिष्टलाई आह्वान
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिष्टहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
प्रचण्डले २०७४ सालमा एमालेसँग मिलेर नेकपा गठन गरिएको भए पनि नेतृत्वको गलत सोच र कार्यशैलीका कारण एकता टिक्न नसकेको स्मरण गर्दै भने, “हाम्रो उद्देश्य सही थियो। नेपालको वामपन्थी कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने हाम्रो भावना, विचार र उद्देश्य जायज थियो।”
उनले जेनजी युवा आन्दोलनपछि उत्पन्न विषम परिस्थितिले फेरि वामपन्थी, देशभक्त, समाजवादी र कम्युनिस्टहरूलाई एकताबद्ध हुनुपर्ने आवश्यकता बढाएको बताए। उनले थपे कि एमालेका हिजोका मन्त्री, सांसदहरू समेत अहिले नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरिसकेका छन् र ध्रुवीकरणको नयाँ माहोल बनेको छ। प्रचण्डले विश्वास व्यक्त गर्दै भने, “केही समयभित्र फेरि सबै वामपन्क्षी कम्युनिस्टहरू एकै ठाउँमा हुनेछौँ।”
उनले केपी ओलीको कार्यशैलीका कारण एमालेभित्र विद्रोह बढेको र त्यसैमार्फत पार्टी एकताबद्ध हुने आशा व्यक्त गरे। आगामी निर्वाचनका लागि पार्टीको तयारीबारे प्रचण्डले भने, “हाम्रो प्रगति दिनप्रतिदिन बढिरहेको छ। हामी एक नम्बर पार्टी बन्न सक्ने सम्भावना राख्छौँ, नभए पनि प्रतिस्पर्धी पार्टी हुनेछौँ।”
उनले आगामी सरकारमा नेकपाको भूमिका महत्वपूर्ण रहने अपेक्षा व्यक्त गरेका छन्।













