प्रतिनिधिसभा निर्वाचनअघि सीमा ७२ घण्टाअघि सिल गर्ने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अघि नेपाल भारत र नेपाल चीन तर्फको सीमा मतदान हुनुभन्दा ७२ घण्टाअघि सिल गर्ने निर्णय भएको छ। निर्णय मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले गरेको हो।
बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयोगका सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए। आयोगका एक अधिकृतका अनुसार सीमा बन्द हुने निर्णय मतदान सुरुवातभन्दा ७२ घण्टाअघि लागू हुनेछ।
बैठकमा मादक पदार्थको बिक्री रोकलगाउने र भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमन नियन्त्रण गर्नेबारे पनि छलफल भएको छ। विदेशी नम्बर प्लेटको सवारी कहिलेबाट रोक्ने भन्ने निर्णय आयोगले अन्तिम रूपमा गर्नेछ।
फागुन १९ मा पर्ने तराईको होली पर्व र जनकपुरको माध्यमिकी परिक्रमा मेला व्यवस्थापनबारे पनि छलफल भएको छ। भारतीय सितमढीबाट बिसौँ हजार मानिस जानकी मन्दिर पुग्ने र फागुन १८ गते फर्कने भएकाले मौन अवधिमा पर्व र मेला कसरी व्यवस्थापन गर्नेबारे योजना बनाइएको छ।
साथै, हिमाली जिल्लामा हिँउ र कठिन भू-भागका कारण निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई चुनौती पर्न सक्ने भएकाले मतपेटिका र निर्वाचन सामग्री हिमाली जिल्लामा कसरी लैजाने भन्नेबारे पनि बैठकमा छलफल भएको आयोगका अधिकृतले जानकारी दिएका छन्।













