विकास निर्माणको युग सुरु भएको रवी लामिछानेको दावी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । रवि लामिछानेले देश अब विकास निर्माणको नयाँ युगमा प्रवेश गरेको दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले निर्माण व्यवसायीहरूलाई नआत्तिन आग्रह गर्दै कानुनअनुसार काम गरे कसैले दुःख नदिने स्पष्ट पारे। उनले भने, “बाँध्ने भनेको कानुनले बाँध्ने हो, डोरीले होइन। कानुनअनुसार काम गरे कसैले केही गर्दैन।” लामिछानेले केही दिनअघि धनगढीमा दिएको अभिव्यक्तिका कारण चर्चामा आएका बालेन शाहको बचाउ गर्दै यस्तो धारणा राखेका हुन्। बालेनले सडक निर्माणमा ढिलासुस्ती गर्नेलाई रुखमा बाँधेर वा थुनेर भए पनि काम छिटो गराउने बताएका थिए, जसले राजनीतिक वृत्तमा बहस सिर्जना गरेको थियो। त्यसै क्रममा लामिछानेले गगन थापालाई लक्षित गर्दै लामो समय सत्तामा रहेकाहरूलाई विकासका लागि कानुन संशोधनको आवश्यकता बल्ल बुझेको आरोप लगाए। “२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो,” उनले टिप्पणी गरे। लामिछानेका अनुसार अब विकास निर्माणका काम दुईदेखि तीन सिफ्टमा सञ्चालन गरिनेछ। “रातरात काम हुन्छ। आवश्यक उपकरण भए ल्याउनुस्, विज्ञप्ति निकाल्नुपर्दैन,” उनले निर्माण व्यवसायीहरूलाई आग्रह गरे। उनले नेपाललाई तीव्र विकासको बाटोमा अघि बढाउने प्रतिबद्धता दोहोर्याउँदै अब कसैले पनि विकासको गति रोक्न नसक्ने दाबी गरे।













