२४ घण्टामै जुट्यो साम्बाको उपचार खर्च, सहयोग रोक्न अपिल

User Image Prime TV News १ हप्ता अगाडि
Image of २४ घण्टामै जुट्यो साम्बाको उपचार खर्च,  सहयोग रोक्न अपिल

काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि आवश्यक सम्पूर्ण रकम संकलन भइसकेको जानकारी दिँदै थप सहयोग नगर्न आग्रह गरेकी छन्।

केही दिनअघि उपचार सहयोगका लागि सार्वजनिक अपिल गरेकी साम्बाको खातामा २४ घण्टाभित्रै उल्लेखनीय रकम जम्मा भएको हो। उनका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ भने अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्ममार्फत ५२ हजार न्युजिल्यान्ड डलर (करिब ४५ लाख रुपैयाँ) प्राप्त भएको छ।

साम्बाले संकलित रकमले उपचार खर्चका साथै कतारमा बसाइँका क्रममा लाग्ने आवास र यातायात खर्चसमेत धान्ने बताएकी छन्। उनले आफूलाई प्रायोजन गर्ने संस्था तथा विभिन्न संघ–संस्थाबाट नगद र अन्य सुविधाजन्य सहयोगको प्रतिबद्धता प्राप्त भएको उल्लेख गरेकी छन्।

कतारमा रहेका विभिन्न व्यक्ति तथा संस्थाबाट समेत सहयोगको आश्वासन आएको भन्दै उनले सम्पूर्ण समर्थक, शुभेच्छुक र नेपाली खेलप्रेमीप्रति आभार व्यक्त गरेकी छन्। उपचारका लागि आवश्यक रकम पर्याप्त भइसकेको उल्लेख गर्दै साम्बाले अब दुवै खातामा आर्थिक सहयोग रोकिदिन अनुरोध गरेकी छन्।