इटहरीमा बालेनको घोषणाः कृषि, उद्योग र फुटबल विकासमा जोड

User Image Prime TV News १ हप्ता अगाडि
Image of इटहरीमा बालेनको घोषणाः कृषि, उद्योग र फुटबल विकासमा जोड

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले कृषि, उद्योग, खानेपानी र खेलकुद क्षेत्रका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। इटहरीमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले पूर्व क्षेत्रको सम्भावना उजागर गर्दै उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई केन्द्रमा राख्ने नीति ल्याइने दाबी गरे।

सभामा उनले सीमावर्ती क्षेत्रबाट आयात हुने तरकारीप्रति संकेत गर्दै स्थानीय उत्पादन प्रवर्द्धन गर्नुपर्ने बताए। “इलाम, झापा र सुनसरीकै तरकारी उपभोग गर्ने वातावरण बनाउनुपर्छ,” उनले भने, “धान उत्पादन गर्ने देशका किसानको दुःख समाधान गर्ने पार्टी रास्वपा बन्न चाहन्छ।” खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी कृषिलाई व्यवसायिक बनाउने उनले प्रतिबद्धता जनाए।

उद्योग क्षेत्रबारे बोल्दै बालेनले खानेतेल र मरमसला उद्योग सञ्चालनका क्रममा देखिने ‘चन्दा आतंक’ अन्त्य गर्न नीतिगत व्यवस्था गरिने बताए। उद्योगमैत्री वातावरण बनाएर लगानी सुरक्षित गर्ने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।

पिउने पानीको समस्या समाधानलाई पनि प्राथमिकतामा राख्ने उनले बताए। साथै, पूर्व क्षेत्रबाट ठूलो संख्यामा फुटबल खेलाडी उत्पादन हुने उल्लेख गर्दै फुटबल पूर्वाधार र विकासमा लगानी बढाइने दाबी गरे। “फुटबल विकास गरेर नतिजा दिने पार्टी बन्न चाहन्छौं,” उनले भने।

समग्रमा, बालेनले पूर्वको सम्भावनालाई उत्पादन र परिणामसँग जोड्दै कृषि, उद्योग र खेलकुद क्षेत्रमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरे।