जनार्दन शर्माले सार्वजनिक गरे रुकुम पश्चिमका लागि २१ बुँदे प्रतिबद्धता पत्र

User Image Prime TV News १ हप्ता अगाडि
Image of जनार्दन शर्माले सार्वजनिक गरे रुकुम पश्चिमका लागि २१ बुँदे प्रतिबद्धता पत्र

रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले रुकुम पश्चिमका लागि आफ्नो २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनले भ्रष्टाचार निवारण, सामाजिक न्याय, आर्थिक विकास र युवामुखी रोजगारी सिर्जनामा केन्द्रित आफ्नो योजना प्रस्तुत गरेका छन्।

प्रतिबद्धता पत्रअनुसार शर्माले राजनीतिमा व्याप्त विकृति, व्यक्तिगत स्वार्थ, जनमतको दुरुपयोग र प्रतिशोधको भावना विरुद्ध लड्ने प्रतिबद्धता जनाएका छन्। उनले अपारदर्शिता, विलासिता र पारिवारिक स्वार्थ जस्ता व्यवहारलाई निरुत्साहित गर्दै समाजलाई सभ्य, सम्पन्न, शान्त र लोकतान्त्रिक बनाउने लक्ष्य राखेका छन्।

भ्रष्टाचार विरुद्ध सक्रिय भूमिका खेल्ने, नीतिगत सुधार गर्ने, जनचेतना अभिवृद्धि र दबाब सिर्जना गर्ने योजना पत्रमा समावेश छ। रुकुमको विकासका लागि जल, जमिन, जङ्गल, खानी र पर्यटकीय क्षेत्रको उपयोग गर्दै गरिबी र बेरोजगारी निवारण गर्ने योजना समेत उल्लेख गरिएको छ।

उम्मेदवार शर्माले विकसित सूचना प्रविधिको ज्ञान र प्रयोगमार्फत युवाहरूलाई स्वरोजगार बनाउने, देशमै रोजगारी सिर्जना गर्ने र जिल्लामै अवसर प्रदान गर्ने लक्ष्य राखेका छन्। उनका योजना अनुसार, दश वर्षभित्र रुकुममा गरिबी, बेरोजगारी र विभेदमुक्त समाज निर्माण गर्दै आधारभूत आवश्यकताहरूको पूर्णता सुनिश्चित गर्ने प्रयास गरिनेछ।

शर्माले यो प्रतिबद्धता पत्र रुकुमलाई विकासको नयाँ मोडेल बनाउने रणनीतिक योजना भएको बताए।