पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः पहाड हिमालमा वर्षा र हिमपात, तराईमा हुस्सु र तुँवालो

User Image Prime TV News १ हप्ता अगाडि
Image of पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः पहाड हिमालमा वर्षा र हिमपात, तराईमा हुस्सु र तुँवालो

काठमाडौ । पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका विभिन्न स्थानमा मौसम अस्थिर बनेको छ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ, जसले सडक र हवाई यातायातमा समस्या निम्त्याउन सक्छ। दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान छ। तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।

राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने सम्भावना छ। गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने उच्च पहाडी र हिमाली भूभागका एक दुई स्थानमा पुनः हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ।