नर्वेका पूर्वप्रधानमन्त्री जगल्यान्डले गरे प्राण त्याग्ने प्रयास, अस्पताल भर्ना
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नर्वेका पूर्वप्रधानमन्त्री थोर्बजोर्न जगल्यान्डले आत्महत्या प्रयास गरेका छन्। गम्भीर स्वास्थ्य अवस्थापछि अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटना गत हप्ताको भएको बताइएको छ, तर नर्वे सरकारले यसबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।
केही अन्तर्राष्ट्रिय मिडिया रिपोर्टअनुसार यो विषय सार्वजनिक नगर्ने विषयमा नर्वेजियन सम्पादक संघले उनका कानुनी प्रतिनिधिसँग परामर्श गरी सहमति गरेको दाबी गरिएको छ। तर केही डिजिटल मिडिया प्लाटफर्मले अवस्था गम्भीर रहेको उल्लेख गर्दै समाचार प्रकाशन गरेका हुन्।
जगल्यान्डको नाम यौन अपराधमा दोषी ठहर भइसकेका अमेरिकी नागरिक जेफ्री एपस्टिनसँगको सम्बन्धका कारण पनि अन्तर्राष्ट्रिय रूपमा विवादमा तानिएको छ। यसै सन्दर्भमा उनीमाथि थप छानबिनको माग चर्किंदै गएको देखिन्छ।
यसका साथै, जगल्यान्डविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपसमेत सार्वजनिक भएका छन्। कानुनी स्रोतहरूका अनुसार उक्त आरोप प्रमाणित भए अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने प्रावधान रहेको छ।
घटनाक्रमले नर्वेको राजनीतिक वृत्तमा हलचल मच्चाएको छ। स्वास्थ्य अवस्था, कानुनी प्रक्रिया र आरोपबारे स्पष्टता नआएसम्म यो विषय अन्तर्राष्ट्रिय चासोको केन्द्रमै रहने देखिन्छ।













