निर्वाचनलाई लक्षित गर्दै एलपी ग्यास आयात उच्च, एकै दिन १३८ बुलेट लोड
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आसन्न निर्वाचनका कारण बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नहोस् भनेर नेपाल आयल निगमले ग्यास आयात उल्लेख्य रूपमा बढाएको छ। निगमका अनुसार भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसनबाट ग्यास लोडिङ उच्च दरमा भइरहेको छ।
निगमले मंगलबार यस वर्षकै सबैभन्दा बढी परिमाणमा ग्यास लोड भएको जानकारी दिएको छ। एकै दिन १३८ बुलेट ग्यास लोड गरिएको हो, जुन करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबर पर्छ। यसले निर्वाचन अवधिमा माग बढे पनि आपूर्ति अवरुद्ध नहुने संकेत दिएको निगमको भनाइ छ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले निर्वाचन अवधिभर ग्यास आपूर्ति नियमित रहने स्पष्ट पारेका छन्। उनले उपभोक्तालाई ढुक्क रहन आग्रह गर्दै बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन भण्डारण र वितरण प्रणालीलाई कडाइका साथ सञ्चालन गरिएको बताए।
निगमका अनुसार लोडिङ, भण्डारण र वितरणमा निगरानी बढाइएकाले अनावश्यक हल्ला र कृत्रिम संकट फैलाउने प्रयास सफल नहुने जनाएको छ । निर्वाचनको संवेदनशील समयमा आपूर्ति अविच्छिन्न राख्न निगम पूर्ण रूपमा सक्रिय रहेको जनाएको छ।












