बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन घोषणा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । बैकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने निर्णय गरेको छ।
राष्ट्र बैंकले ८८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो। यसका लागि बोलकबोल प्रक्रिया बुधबार सञ्चालन हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन दिनुपर्नेछ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। निक्षेप संकलन उपकरणमार्फत तानिएको रकमको साँवा तथा ब्याज आगामी जेठ १० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यस उपकरणको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमशः वितरण गरिनेछ। अधिक तरलता व्यवस्थापन गर्दै बजारमा ब्याजदर स्थायित्व कायम राख्ने उद्देश्यले राष्ट्र बैंकले यस्ता उपकरण प्रयोग गर्दै आएको छ।












