झापा–५ मा ओलीको सघन चुनावी अभियान, गौरीगञ्जमा सात घण्टा मतदाता भेटघाट
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । चुनावी अभियानलाई तीव्र बनाउँदै नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्रमा सघन भेटघाट कार्यक्रम गर्दैछन्।
अभियानअन्तर्गत ओलीले बिहान ९ः३० बजे दमक–९ स्थित चिया पसलमा स्थानीय मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। घरदैलो र प्रत्यक्ष संवादमार्फत मतदाताको भावना बुझ्ने रणनीतिअनुसार कार्यक्रम राखिएको जनाइएको छ।
पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार आजको कार्यक्रम मुख्यतः गौरीगञ्ज क्षेत्रमा केन्द्रित रहनेछ। बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन हुने र करिब सात घण्टाको अवधिमा १२ वटा टोलमा मतदातासँग अन्तरक्रिया गरिनेछ।
गौरीगञ्ज–५ अन्तर्गत श्यामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर र नयाँ बजारमा भेटघाट कार्यक्रम तय गरिएको छ। त्यसैगरी बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा पनि मतदाता भेटघाट हुनेछ। गौरीगञ्ज–३ का बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलमा समेत अन्तरक्रिया कार्यक्रम राखिएको छ।
यसअघि पनि सो क्षेत्रमा मतदातासँग संवाद गरिसकेका ओलीले आज स्थानीय समस्या, पूर्वाधार विकास, रोजगारी र कृषि क्षेत्रका मुद्दामा मतदाताका सुझाव सुन्ने र समाधानका लागि प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ। चुनाव नजिकिँदै जाँदा झापा–५ मा दलहरूबीच प्रचारप्रसार प्रतिस्पर्धात्मक बन्दै गएको छ।













