पर्वतारोहण क्षेत्रको ‘फेक रेस्क्यू’ काण्डमा थप दुई पक्राउ, अनुसन्धान तीव्र
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पर्वतारोहण क्षेत्रमा देखिएको ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। यससँगै पक्राउ पर्नेहरूको संख्या नौ पुगेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई नियन्त्रणमा लिइएको हो।
सिंहलाई काठमाडौं महानगरपालिका–३१ बाट बुधबार पक्राउ गरिएको हो भने धादिङको ज्वालामुखी गाउँपालिका–२ निवासी तिवारीलाई मङ्गलबार नै पक्राउ गरिएको ब्युरोले जनाएको छ। यसअघि नै ट्रेकिङ कम्पनी, उद्धार (रेस्क्यू) कम्पनी, अस्पताल, विदेशी बिमा कम्पनीका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसमेत गरी अन्य व्यक्तिहरू पक्राउ परिसकेका छन्।
अनुसन्धानबाट उच्च हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका विदेशी पर्यटक बिरामी परेको देखाउँदै झुटो उद्धार विवरण तयार गरी बिमा रकम दाबी गर्ने र त्यसबाट गैरकानुनी आर्थिक लाभ लिने कार्य भएको खुलेको छ।
ब्युरोले घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा आर्थिक कारोबारको थप अनुसन्धान जारी रहेको जनाएको छ।













