डडेलधुरामा चुनावी चहलपहल, कांग्रेसले आमसभा गर्दै
Prime TV News १ हप्ता अगाडि 
डलेलधुरा । निर्वाचन आउन ८ दिन मात्रै बाँकी रहँदा डडेलधुरामा उम्मेदवारहरूको प्रचारप्रसार तीव्र बन्दै गएको छ। उम्मेदवारहरू विभिन्न माध्यममार्फत मतदातासँग पहुँच बढाउन लागेका छन्।
नेपाली कांग्रेस, डडेलधुराले तीनवटा चुनावी आमसभा आयोजना गर्दै निर्वाचन प्रचारलाई गति दिएको छ। गत मंगलबार गन्यापधुरा गाउँपालिका मुकाम बडालमा पहिलो आमसभा सम्पन्न भएको थियो। आगामी फागुन १६ गते परशुराम नगरपालिकाको लालढुंगा बजार र १७ गते जिल्ला सदरमुकाम बागबजारमा अर्को आमसभा हुने कार्यक्रम तय गरिएको छ।
छोटो समय भएकाले अन्य दलहरूले प्रत्यक्ष भेटघाटमै मतदातासँग संवाद प्रभावकारी हुने बताएका छन्। कांग्रेसका उम्मेदवार नैनसिंह महरले डडेलधुरालाई हिल स्टेसनको रूपमा विकास गर्ने र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा नेपाल–भारत जोड्ने परशुरामस्थित महाकाली पुल सम्झौता प्रक्रियालाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
यस निर्वाचन क्षेत्रमा कुल १३ उम्मेदवार रहेका छन्। नेकपा (एमाले)बाट चक्रप्रसाद स्नेही, नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल, रास्वपाबाट ताराप्रसाद जोशी, राप्रपाबाट गोविन्द खडायत, नेककिपाबाट सुरेन्द्र भट्ट, जनमोर्चाबाट चन्द्रदेव विकल लगायतका उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष संवाद गर्न थालेका छन्।













