थुनामुक्त पछि दुर्गा प्रसाईले भने 'चुनाव भएको दिनदेखि देश युक्रेनको बाटोमा गयो'
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाई १३ पटक पक्राउ परेपछि आज सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका छन्। हिजो अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा उनलाई छोड्न आदेश दिएको थियो।
प्रसाईलाई निर्वाचन आयोगले चुनाव भाँड्ने गतिविधि गरेको आरोपमा पक्राउ गरेको थियो। सरकारले उनी चुनावसम्म थुनाभित्र राख्ने रणनीति बनाएको थियो, तर सर्वोच्चको आदेशपछि उनी आज निस्किएका हुन्।
थुनाबाट बाहिरिदा प्रसाईले देश युक्रेनको बाटोमा गएको बताए र आफ्नै शैलीमा भाषण गर्दै विरोध प्रदर्शनका सवाल उठाए। उनले भने, “यो चुनाव भएको दिनदेखि देश युक्रेनको बाटोमा गयो। मेरो हृदय फुटेको छ। म रुन मात्रै सकेको छैन।”
प्रसाईंले राजालाई पनि सडकमा आउन चुनौती दिएका छन् र सरकारी अधिकारीमाथि प्रश्न उठाएका छन्। उनले भने, “राजाका अगाडि बाबाको दुहाइ भन्छन्। अब राजाले पनि हिम्मत गर्नुपर्छ। मैले सुनेको छु राजा पनि अब सडकमा निस्कनेछन्।”
साथै, सामाजिक सञ्जालमा प्रसाईले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटेको तस्विर पोस्ट भएको थियो। प्रसाईले भने, “भेट भएको हो, तर दुई–ढाई वर्षअघिको हो। त्यसमा फोटो खिचिएको थियो, तर कुनै अर्थ छैन।”
प्रसाईले आफ्नो हातमा देश आएपछि आफूले आरजु देउवा, केपी ओली र जिम्मेवार अधिकारीलाई नै थुन्ने योजना रहेको पनि दावी गरेका छन्। उनका भनाइले फेरि राजनीतिक विवाद र अभिव्यक्ति स्वतन्त्रताको विषय उठाएको छ।













