पूर्वउपसभापति निधिले भने कांग्रेसको एकता सगै कांग्रेसले बहुमत प्राप्त गर्छ
Prime TV News १ हप्ता अगाडि 
धनुषा । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको आन्तरिक मतभेद अन्त्य गर्ने प्रयास गरिरहेको बताएका छन्।
धनुषा–३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार निधिले नयाँ नेतृत्व आएसँगै पार्टीमा नयाँ जोस र ऊर्जा देखिएको भन्दै मतभेद समाधान गर्न आवश्यक रहेको बताए। उनले भने, “अहिलेको अवस्था राम्रो छ। नयाँ नेतृत्वले स्पष्ट दिशा लिएको छ। गगन थापाको युवा ऊर्जा देखेर मैले यसलाई सकारात्मक रूपमा लिएको छु। यसले पार्टीभित्र राम्रो प्रभाव पारेको छ।”
निधिले देशभर कांग्रेस एकताबद्ध रहेको र उम्मेदवारहरू चयन भइसकेको उल्लेख गरे। उनका अनुसार, “कांग्रेसले बहुमत प्राप्त गर्नेछ र बहुमतबाट सरकार बन्ने मेरो पूर्ण विश्वास छ।” उनले आफैंले आन्तरिक मतभेद समाधान गर्न पहल गरिरहेको र यसमा केही सफलता पनि पाएको बताए। साथै, देशमा हाल निर्वाचित सरकार नहुँदा लोकतन्त्र कमजोर भएको र राजनीतिक प्रणाली संकटमा परेको धारणा व्यक्त गरे।
प्रतिनिधि सभाको निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचार अन्त्य र सुशासन सुनिश्चित गर्ने निधिको विश्वास छ। उनले मतदातालाई चेतावनी दिँदै भने, “जसले काम गरेर देखाएको छैन, उसबाट भरोसा गर्न सकिँदैन। नयाँ नेतृत्व जतिबेला पनि असफल हुन सक्छ।”













