नेप्से परिसूचक बढेर २६४८.९० विन्दुमा बन्द, कारोबारमा पनि वृद्धि
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । बुधबार नेप्से परिसूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि उकालो जारी राखेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.२० अंक, फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंकले वृद्धि भएको छ।
कारोबार रकम पनि बढेको छ। बुधबार ३३३ स्टकको ४८ हजार ६४० पटकको कारोबारमा १ करोड ४ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ, जसको मूल्य ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनको कारोबार ४ अर्ब २३ करोड रुपैयाँ थियो।
यस दिन दुई स्टक सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सले सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी र सुपरमाई हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयर मूल्य सर्वाधिक ५.९८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा छ, जसको शेयर कारोबार २८ करोड ६९ लाख १९ हजार रुपैयाँ बराबर भएको छ। त्यस्तै, ङादी ग्रुप पावरको करिब साढे २५ करोड र एसवाई प्यानल नेपालको कारोबार २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले बढेको छ। वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूह सामान्य घटेका छन्।












