१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता चौथोपटक स्थगित
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता चौथोपटक स्थगित गरिएको छ।
संघीय मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतियोगिता प्रतिनिधिसभा सदस्य निर्वाचनपछि उपयुक्त समयमा आयोजना गरिने जानकारी दिएका छन्।
यो संस्करण कर्णाली प्रदेशमा आयोजना हुने तय गरिएको थियो, तर विभिन्न परिस्थितिका कारण मिति पटक–पटक सारिएको छ। प्रारम्भमा प्रतियोगिता ०८१ मंसिर १–८ का लागि तोकिएको थियो, तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको कार्यकालमा। पछि दोस्रोपटक मिति ०८१ चैत २३–३०, र तेस्रोपटक ०८२ जेठ ३–१० सम्म सारिएको थियो।
अन्ततः तत्कालीन खेलकुदमन्त्री बब्लु गुप्ताको कार्यकालमा प्रतियोगिता ०८२ फागुन १–७ का लागि तोकिएको थियो। तर तोकिएको मिति भइसकेको ६ दिनपछि सरकारले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो।
यसअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश, पोखरामा सम्पन्न भइसकेको छ। १०औँ संस्करण अब प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ मितिमा आयोजना गरिने योजना छ।












