६० भन्दा बढी सिट जित्ने नेकपाको दाबी, निष्पक्ष निर्वाचन भए राम्रो परिणाम आउने प्रचण्डको विश्वास
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६० भन्दा बढी सिट जित्ने दाबी गरेका छन्।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित वाम बुद्धिजीवीसहितको बैठकमा बोल्दै उनले पार्टीको राजनीतिक धार स्पष्ट भएकाले कार्यकर्तामा उत्साह र आत्मविश्वास बढेको बताए। राष्ट्र, लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिएको कारण मतदाताबाट सकारात्मक समर्थन प्राप्त हुने उनको भनाइ थियो।
निष्पक्ष र स्वतन्त्र निर्वाचन भए नेकपाले अघिल्लो निर्वाचनभन्दा राम्रो नतिजा ल्याउने प्रचण्डको दाबी छ। उनका अनुसार विभिन्न तहबाट आएको प्रतिवेदनले पनि पार्टीको पक्षमा उत्साहजनक संकेत देखाएको छ।
बैठकमा सहभागी नेता प्रमेश हमालले संयोजक प्रचण्डले प्रत्यक्षतर्फ ६० सिट जित्ने लक्ष्यसहित तयारी भइरहेको ब्रिफिङ गरेको जानकारी दिए। समानुपातिकतर्फ २० देखि २५ लाख मत ल्याउने अपेक्षा गरिएको उनले बताए।
१२ वर्षपछि एक्लै चुनावी मैदानमा उत्रिएको नेकपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। पार्टीले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उल्लेखनीय सफलता हात पार्ने आकलन गरेको जनाएको छ। पार्टीले निर्वाचन रणनीति र वास्तविक अवस्थाबारे थप समीक्षा गर्न सचिवालय बैठकसमेत बोलाएको छ।













