म्यानमारद्वारा १८ नेपालीलाई आममाफी दिने , औपचारिक प्रक्रिया अघि बढ्दै

User Image Prime TV News १ हप्ता अगाडि
Image of म्यानमारद्वारा १८ नेपालीलाई आममाफी दिने , औपचारिक प्रक्रिया अघि बढ्दै

काठमाडौ । म्यानमार सरकारले एक वर्षको श्रमसहित कैद सजाय पाएका १८ नेपालीलाई आममाफी दिन सकारात्मक संकेत दिएको छ। यसबारे औपचारिक प्रक्रिया अघि बढाउन म्यानमारले नेपाल सरकारसँग लिखित अनुरोध पठाउन आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयका दक्षिणपूर्वी एसिया तथा प्यासेफिक महाशाखा प्रमुख प्रकाश अधिकारीले बुधबार आयोजित पत्रकार सम्मेलनमा म्यानमार सरकारबाट सजाय मिनाहा गर्ने विषयमा सकारात्मक सन्देश प्राप्त भएको जानकारी दिए। उनका अनुसार परराष्ट्र मन्त्रालयले आवश्यक कूटनीतिक पत्राचारको तयारी गरिरहेको छ।

दलाल तथा एजेन्टको प्रलोभनमा ती १८ नेपाली म्यानमार पुगेका थिए। उनीहरूलाई म्यानमारको सीमावर्ती सहर म्यावडी मा सञ्चालित गैरकानुनी ‘स्क्याम सेन्टर’ मा काम लगाइएको थियो। उद्धारको क्रममा स्थानीय प्रहरीले नियन्त्रणमा लिएपछि अदालतले गत माघमा एक वर्षको श्रमसहित कैद सजाय सुनाएको थियो।

म्यानमारस्थित नेपाली राजदूत हरिषचन्द्र घिमिरे ले सजाय माफीका लागि कूटनीतिक पहल गरेका थिए। सो क्रममा म्यानमारका अधिकारीहरूले नेपाल–म्यानमार सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै सकारात्मक दृष्टिकोण व्यक्त गरेका थिए।

म्यानमार पक्षले अवैध रूपमा प्रवेश गरेका नेपाली मात्र नभई १७ देशका ४९५ जनालाई समेत पक्राउ गरिएको स्पष्ट पारेको छ। ती सबैलाई गैरकानुनी गतिविधिसँग सम्बन्धित आरोपमा नियन्त्रणमा लिइएको जनाइएको छ।

केही साताअघि बैंकक स्थित नेपाली दूतावासबाट गएको टोली उद्धारका लागि म्यानमार–थाइल्यान्ड सीमा क्षेत्रमा पुगेको थियो। सोही क्रममा म्यावडीबाट सीमा नजिक ल्याइएका नेपालीहरूलाई स्थानीय प्रहरीले पुनः नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको थियो।