मतदाता नामावलीमा मृतकको नाम दुरुपयोग नहुने आयोगको दाबी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोगले मतदाता नामावलीमा मृत्यु भइसकेका व्यक्तिको नाम दुरुपयोग नहोस् भन्ने विषयमा आफू सचेत रहेको जनाएको छ। आयोगले स्थापना गरेको कल सेन्टरमा यससम्बन्धी जिज्ञासा बारम्बार आउने गरेको बताइएको छ।
आयोगले मतदाता, नागरिक तथा सरोकारवालाको प्रश्न र गुनासो सुनुवाइका लागि टोल–फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ। निर्वाचनसम्बन्धी अन्योल वा जिज्ञासा भए सो नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
हालै एक मतदाताले कल सेन्टरमार्फत ‘मतदाता नामावलीमा मृतक व्यक्तिको नाम समावेश हुँदा दुरुपयोग हुन सक्ने हो कि?’ भन्ने प्रश्न राखेका थिए। त्यसको जवाफमा आयोगले मतदाता नामावली छापिनुअघि मृत्यु भएको आधिकारिक सूचना प्राप्त भएका व्यक्तिको नाम सूचीबाट हटाइसकिएको स्पष्ट पारेको छ। तर, सूचना प्राप्त नभएका वा तोकिएको मितिपछि मृत्यु भएका व्यक्तिको नाम भने नामावलीमा रहन सक्ने आयोगले जनाएको छ।
यस्तो अवस्थामा दुरुपयोग हुन नदिन कडा सुरक्षा व्यवस्था अपनाइएको आयोगको दाबी छ। आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा फोटोसहितको रंगिन मतदाता नामावली पठाइन्छ। मतदान गर्न आउने व्यक्तिको फोटोसहितको सक्कल परिचयपत्र, नामावलीमा रहेको फोटो र वास्तविक अनुहार भिडाएर यकिन गरेपछि मात्र मतपत्र उपलब्ध गराइन्छ।
त्यस्तै, मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीले सम्भावित अवाञ्छित गतिविधिको निगरानी र नियन्त्रण गर्ने व्यवस्था छ। साथै, उम्मेदवार वा राजनीतिक दलका मतदान प्रतिनिधिहरूले समेत मतदाताको पहिचानमा निगरानी राख्ने र शंका लागे तत्काल आपत्ति जनाउने अधिकार राख्छन्।
बहुस्तरीय पहिचान र निगरानी प्रणालीका कारण मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुने सम्भावना न्यून रहेको आयोगले दाबी गरेको छ।












