कर्णालीका ३५९ मतदानस्थल अति संवेदनशील, फागुन २१ को निर्वाचनमा कडा सुरक्षा चुनौती

User Image Prime TV News ६ दिन अगाडि
Image of कर्णालीका ३५९ मतदानस्थल अति संवेदनशील, फागुन २१ को निर्वाचनमा कडा सुरक्षा चुनौती

सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा सुरक्षा अवस्था गम्भीर देखिएको छ। प्रदेशभर रहेका मतदानस्थलमध्ये ठूलो हिस्सा अति संवेदनशील वर्गमा परेपछि निर्वाचन सुरक्षालाई लिएर दबाब बढेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत का प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रदेशका १० जिल्लामा ३५९ वटा मतदानस्थल अति संवेदनशील, ४२२ वटा संवेदनशील र १६० वटा सामान्य रहेको जानकारी दिनुभयो। कुल ९५९ मतदानस्थलमध्ये ९४१ स्थायी र १८ अस्थायी छन्।

त्यसैगरी, प्रदेशमा रहेका १ हजार ४५५ मतदान केन्द्रमध्ये ४४६ वटा अति संवेदनशील, ६९७ वटा संवेदनशील र २८४ वटा सामान्य अवस्थामा रहेका छन्। एक मात्र मतदान केन्द्र भएका स्थलको संख्या ५२५ रहेको छ भने दुई केन्द्र भएका स्थल ३५३ छन्। तीन वा सोभन्दा बढी केन्द्र भएका स्थलको संख्या तुलनात्मक रूपमा कम छ।

कर्णालीमा १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। सुर्खेत र दैलेख मा दुई दुई निर्वाचन क्षेत्र छन् भने बाँकी आठ जिल्लामा एक एक निर्वाचन क्षेत्र रहेका छन्। प्रदेशमा ५४ गाउँपालिका र २५ नगरपालिका छन्।

सुरक्षा निकायका अनुसार भौगोलिक विकटता, विगतका निर्वाचन अनुभव र स्थानीय विवादका कारण धेरै मतदानस्थल जोखिममा परेका हुन्।