तराईमा बिहान हुस्सु, पहाड हिमालमा बादल र हल्का वर्षाको सम्भावना
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । आज देशका तराई भूभागका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना रहेको छ। पहाडी र हिमाली क्षेत्रको मौसम भने बादल, मेघगर्जन र हल्का वर्षा–हिमपातको संकेत देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया देखि आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा पनि यस्तै किसिमको मौसम देखिन सक्ने महाशाखाले जनाएको छ। तराई भूभागमा भने दिनभर मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।
आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। रातिको समयमा देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
यसैबीच, कर्णाली प्रदेश सहित कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले स्पष्ट पारेको छ ।













