चुनाव नजिकिँदै गर्दा उपचारका लागि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवा

User Image Prime TV News ६ दिन अगाडि
Image of चुनाव नजिकिँदै गर्दा उपचारका लागि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवा

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। उनका सचिवालयका अनुसार देउवा बुधबार राति ११:३० बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका हुन्।

चुनाव नजिकिँदै गर्दा देउवाको विदेश प्रस्थानलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टी नेतृत्वमा गगन थापा आएपछि देउवा सक्रिय राजनीतिबाट टाढिँदै गएको देखिन्छ। हाल उनी पार्टीका सार्वजनिक कार्यक्रम र चुनावी अभियानमा समेत देखिएका छैनन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित आफ्नै निवासमा उनीमाथि कुटपिट भएको थियो। त्यसयता उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी हुँदै आएका छन्। उक्त घटनापछि पनि उनले सिंगापुरमै उपचार गराएका थिए।

देउवाको गृहजिल्ला डडेल्धुराबाट यसपटक नेपाली कांग्रेसले नैनसिंह महर लाई उम्मेदवार बनाएको छ। तर देउवाले आफ्ना उम्मेदवारका पक्षमा खुलेर मत माग्ने गतिविधि नगरेको स्रोतहरू बताउँछन्। यसपटक उनी मतदान गर्न गृहजिल्ला जान्छन् वा जाँदैनन् भन्नेबारे समेत अन्योल छ। देउवाको स्वास्थ्य अवस्था, चुनावी भूमिकाबारे पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।