राजावादी प्रदर्शनको तयारी, फागुन १६ भित्र काठमाडौं आउन दुर्गा प्रसाईको अपिल
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । राजावादी अभियानलाई तीव्रता दिँदै व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईले फागुन १६ गतेभित्र काठमाडौंमा उपस्थित हुन सर्वसाधारणलाई आह्वान गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक सन्देश जारी गर्दै उनले राजपरिवारका सदस्यहरू स्वयं राष्ट्र, धर्म र नागरिकको हितका लागि सडकमा उत्रिने तयारीमा रहेको दाबी गरेका छन्। प्रसाईले राष्ट्रको रक्षा र धर्मको संरक्षणलाई साझा जिम्मेवारीको विषय भन्दै देशभरका नेपालीलाई राजधानी केन्द्रित प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्।
उनले आफ्नो सन्देशमा देशलाई द्वन्द्वतर्फ धकेलिन नदिन एकताबद्ध दबाब आवश्यक रहेको उल्लेख गरेका छन्। “राष्ट्र, धर्म र नागरिकको सुरक्षा सबैको साझा दायित्व हो,” भन्दै उनले तन, मन र वचनले एकजुट हुन अपिल गरेका छन्।
प्रसाईको आह्वानसँगै राजधानीमा राजावादी शक्तिहरूको प्रदर्शन हुने सम्भावनाबारे चर्चा सुरु भएको छ। यद्यपि राजपरिवारका तर्फबाट यस विषयमा कुनै औपचारिक प्रतिक्रिया आएको छैन । यसबीच, सुरक्षाकर्मी निकायले सम्भावित भीड व्यवस्थापन र सुरक्षा तयारीबारे आन्तरिक योजना बनाइरहेको बुझिएको छ। फागुन १६ लाई लक्षित गरी हुने भनिएको प्रदर्शनले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ।













