निर्वाचन सुरक्षा अन्तर्गत मादक पदार्थ बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध, प्रचारप्रसार पनि रोक

User Image Prime TV News ६ दिन अगाडि
Image of निर्वाचन सुरक्षा अन्तर्गत मादक पदार्थ बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध, प्रचारप्रसार पनि रोक

काठमाडौ । आगामी फागुन २१ मा हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले विशेष निर्णय गरेको छ। समितिको निर्णयअनुसार मतदान मितिभन्दा सात दिन अगाडिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ।

यसैगरी, निर्वाचन प्रचारप्रसार पनि फागुन १८ गते राति १२ बजेदेखि निषेध हुनेछ। निर्वाचन आचारसंहिताको पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिएको छ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ को प्रावधान अनुसार निषेधित गतिविधि भए तत्काल कारबाही गरी आयोगमा जानकारी गराउने व्यवस्था गरिएको छ । मतदानको दिन सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।

अत्यावश्यक सेवाका सवारीसाधन जसमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतमा प्रयोग हुने सवारीसाधन बाहेक अन्य सवारी साधनहरूलाई बन्द गरिनेछ।

निर्वाचन सुरक्षा समितिले सुरक्षा वस्तुस्थिति, मार्गदर्शन र सुझावहरूलाई ध्यानमा राखेर यस प्रकारका निर्णयहरू कार्यान्वयनमा ल्याएको निर्वाचन आयोगले जनाएको छ। यसरी, आगामी निर्वाचनमा मतदाता र सर्वसाधारणका लागि स्वच्छ, विश्वसनीय र भयरहित मतदान वातावरण सुनिश्चित गर्ने प्रयास तीव्र पारिएको छ।